राजनीति

राजेन्द्र लिङदेनलाई अध्यक्ष लोहनीको समर्थन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन् । आज एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताए ।

राप्रपाको महाधिवेशन १५ मंसिरबाट आयोजना हुँदैछ । यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।

लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएकोमा त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए । ‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

आफू भविष्यमा पनि राप्रपाप्रति समर्पित रहेर नेपाल र नेपालीको हितमा सक्रिय रहने लोहनीको प्रतिबद्धता छ ।