राजनीति

अन्योलताका बीच ओली र रावलको हुने नै भयो प्रतिष्पर्धा


काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशनको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । १२ गते नै हुने पर्ने एक दिन ढिलो भई हुन लागेको निर्वाचनमा अध्यक्षमा रावलले उम्मेदवारी दिन्छ की दिदैँन भन्ने अन्योलता अब हटेको छ ।

एक दिनको अवधीमा ओलीले रावललाई मनाउन निकै कोशिस गरेको थियो । तर, रावलले आफू निकै अघि बढिसकेकोले पछाडी नहट्ने अडान लिएपछि ओलीको सर्वसम्मतिले अध्यक्ष हुने सपना टुटेको हो । ओलीले रावललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर त्यो आग्रह रावलले अस्वीकार गरे ।
अध्यक्ष पदमा रावलसँग प्रतिष्पर्धा गर्ने भएपछि ओलीले रावललाई सम्झाउन नसकेको प्रतिक्रिया दिएका छन् । ओलीले भने “उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु’भो । सम्झाउन सकिएन ।

रावलले नमानेसँगै अब निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । निर्वाचनको प्रक्रिया आज बिहान सुरु हुने भएको छ । बिहान ९ देखि साढे ९ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । यो अवधिमा उमेदवारी दर्ता गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।