राजनीति

नयाँ विकल्प : भीम रावललाई वरिष्ठ उपाध्यक्ष, पोखरेल फेरि महासचिव


काठमाडौँ — नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।

चितवनको सौराहामा जारी एमालेको १०औँ महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् ।

उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।