राजनीति

आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्नु पर्ने कांग्रेसका नेता थापाको भनाई


काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताउनुभएको छ । आज कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताउनुभएको हो ।

थापाले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सिमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताउनुभयो ।

कांग्रेस काठमाडौं जिल्ला समितिमा नेताहरु थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा लगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको छ ।