राजनीति

महन्थ ठाकुरले भने – ओलीले हामीलाई सद्‍भाव राख्नुभयो तर, सहमति पूरा गर्नुभएन


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति सद्भाव राखेको भए पनि सहमति पूरा नगरेको गुनासो गरेका छन् ।

एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष ठाकुरले भने, ‘उहाँले हाम्रो पार्टी र नेता कार्यकर्ताप्रति देखाएको सद्भावप्रति आभार व्यक्त गर्छु । तर, यही संविधानभित्रकै संशोधनको मागसहित लाखौँको संख्यामा सडक जानुपरेको थियो । एकदिन मानव साङ्लोको नाममा संशोधनका माग गरेको थियौँ ।’

ठाकुरले संविधान अझै पूर्ण रुपमा कार्यान्वयन भइसकेको बताए । ‘संविधानमा अझै त्रुटि छ। उहाँले त्यसलाई सद्भाव राख्नुभयो त्यसका लागि कार्यदल बनाएका थियौँ । अहिले पनि पूरा भएको छैन । हाम्रो साथीहरूको मुद्‍दा छ । सांसदहरू जेलमा छन् । प्रदेशसभाको सांसदहरूमाथि मुद्‍दा छ’ ।

वर्तमान सरकारलाई पनि नागरिकता र जेलमा रहेकाहरूलाई छाड्ने मुद्‍दा फिर्ता लिनेबारे सहमति भए पनि पूरा नभएको गुनासो गरे । अध्यक्ष ठाकुरले भने, ‘नागरिक विधेयकको कुरा पनि छ । वर्तमान प्रधानमन्त्रीसँग पनि हामीले आश्वासन दिनुभएको थियो। हाम्रो नेता कार्यकर्तामाथिको मुद्‍दा फिर्ता भएन भने मधेशका जनता फेरि सडकमा आउन नपरोस् ।’