राजनीति

चुनाव लड्नेलाई ओलीको चेतावनी, ओलीबाहेकको प्रतिस्पर्धा, ओलीकै निर्देशन–ओलीकै आशिर्वाद (भिडियोसहित)


काठमाडौँ — सर्वसम्मतिमा नेतृत्व चयन कि निर्वाचन भन्ने बहसमै हालसम्म अल्झिएको नेकपा एमालेमा अध्यक्षबाहेकका सबै पदमा आकंक्षीहरुको लाइन छ । तर एकसेएक बनेर कोही बाहिर आएका छैनन् । नत उनीहरुले आफुले दाबी गर्नुको स्पष्टमार्ग चित्र नै सार्वजनिक गरेका छन् ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुँदा प्रतिद्वन्द्वी माधवकुमार नेपालसँग मात्र ६६ मतको अग्रताले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए ।माधवकुमार नेपाल प्यानल र केपी शर्मा ओली प्यानल बनाएर प्रतिस्पर्धा गर्दा नेपालले एक हजार ३ मत ल्याए भने ओलीले एक हजार ५९ मत ल्याएर विजयी भए । तर दसौं महाधिवेशनसम्म आइपुग्दा ओलीका मूख्य प्रतिद्वन्द्व नेपाल एमालेबाट अलग्गीएका छन् र ओली सर्वेसर्वा बनेका छन् । फलतः अध्यक्ष ओली सर्वसम्मत जस्तै छन् । शुक्रबारदेखि सुरु हुने १० औं महाधिवेशनमा उपाध्यक्ष भीम रावल हार्नकै लागि भएपनि उनीसँग भिड्ने घोषणा गरेका छन् । किनकि ओलीनै फेरि नेतृत्वमा आए पार्टी सकिने रावलको भनाई छ ।

पार्टीका दुई नेतालाई धूरी बनाएर शीरदेखि तीरसम्म भन्ने अभियानले यसअघि एमालेको नेतृत्व चयन हुन्थ्यो । तर अहिले प्यानल बनाएर जान बन्देज लागेपछि ओलीकै निर्देशनमा पदाधिकारी चयन र आशिर्वादले पदप्राप्ती गर्ने माहोल बनेको छ । फलतः नेताहरु आकंक्षा भएर पनि ओलीको संकेत पर्खिरहेका छन् । अबको नेतृत्व लिन र पदाधिकारीमा प्रतिष्पर्धा गर्न एकसे एक उम्मेद्वार मैदानमा भने देखिएका छैनन् । तर आकंक्षा देखाउनेहरुको संख्या भने दर्जनौँ छ ।

१०औं महाधिवेशनबाट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्षसहित महासचिव, उपमहासचिव र सचिवलगायतका पदमा नेताहरुको तीब्र आकंक्षा त छ । चुनावै भएपनि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन शिरोपर नगर्नेहरुले जित्ने सम्भावना छैन । ओलीविरुद्ध गएर उम्मेद्वारीको आट गर्ने ठाउँ पनि छैन । किनकि उम्मेद्वारी दिएर चुनाव लड्नेले परिणामको पनि ख्याल राख्न ओलीले यसअघि नै चेतावनी दिएका छन् । जसले महाधिवेशनलाई राजनीतिक विचारको थलो नबनाई आश र त्रास देखाएर निर्देशित भेला बनाउन खोजिएको आरोप ओलीमाथि लाग्ने गरेको छ ।