राजनीति

एमाले महाधिवेशनका लागि नवलपरासी र चितवन सडक खण्डमा सवारी सञ्चालनमा रोक


काठमाडौँ — एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) ले प्रतिबन्ध लगाएका छन् ।

चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) मा बसेको अन्तरजिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।

त्यस्तै, चितवन जिल्ला प्रशासन कार्यालयले पनि नारायण क्षेत्रमा शुक्रबार सवारी आवतजावतमा रोक लगाएको छ । यद्यपि एमाले सचिव योगेश भट्टराईले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनका क्रममा सवारी साधनमा रोक नलगाइएको दाबी गरेका छन् । एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ ।