राजनीति

सभापतिका लागि निधिको घोषणा–पत्र सार्वजनिक


काठमाडौँ – कांग्रेस उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा आफूले दिने उम्मेदवारीका कारणहरू खुलाउँदै घोषणा पत्र सार्वजनिक गरेका छन् । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरेका छन् ।

कांग्रेसको महाधिवेशनमा मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । निधिले बिहीबार बानेश्वरस्थित सचिवालयमा एक कार्यक्रम मार्फत सभापति पदको उम्मेदवारीका लागि आफ्ना एजेण्डासहितको प्रतिबद्धता र योजनासहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

निधिले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरेका छन् ।

उनले अहिले कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्ने नेतृत्व चाहिएको भन्दै त्यसकालागि आफू तयार रहेको बताएका छन् ।

निधिले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराइ वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन आफूलाई सभापतिको उम्मेदवारका रुपमा उभ्याएको दाबी गरेका छन् ।