राजनीति

पाँच देशका गैरआवासीय राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि सिंगापुरका राजदूत सिमोम वोङ वाइ कुइन, नेपालका लागि न्‍युजिल्याण्डका राजदूत डेभिड ग्रेगोरी पाइन, नेपालका लागि होली सीका राजदूत लियोपोल्दो गिरेल्ली, नेपालका लागि टर्कीका राजदूत फिरात सुनेल र नेपालका लागि रोमानियाका राजदूत ड्यानिएला मारिएना सिजोनोभ ताने रहेका छन् । उनीहरु पाँचैजना नेपालका लागि गैरआवासीय राजदूतहरु हुन् ।

ओहदाको प्रमाणपत्र बुझाउने समारोहमा सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायत उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थित भएका थिए ।