राजनीति

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने नेम्वाङको तयारी


काठमाडौँ — नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सर्वसम्मत नेतृत्व चयन नगरी निर्वाचन भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

नेम्वाङले सकभर सहमतिकै आधारमा नेतृत्व चयन गर्ने र यदि त्यसो नभएको अवस्थामा आफूलाई वरिष्ठमै चुनाव लड्न साथीहरुले सुझाव दिएको बताए ।

‘नेकपा भंग गरेर एमाले व्युँतिएपछि हामीले एकता र सहमतिको महाधिवेशन गर्ने भनेर भनेका थियौं, त्यही आधारमा सर्वसम्मत नेतृत्व चयन गर्न हामी लागिपरेका छौँ,’ नेम्वाङले भने, ‘पार्टीको आन्तरिक समस्या हल गर्न सिंगो पार्टीलाई एकतावद्ध गराउन कमरेड केपी ओलीको विकल्प छैन । त्यसका लागि अन्तिमसम्म प्रयास हुन्छ, म त्यसका लागि कुदिरहेको छु, यदि कोसिस गर्दा पनि भएन भने, निर्वाचनतिर जानुपर्छ ।’

उनले उम्मेदवारी घोषणा भने केही दिनपछि मात्र गर्ने बताए । अध्यक्ष केपी शर्मा ओली निकट रहेका नेम्वाङ नवौं महाधिवेशनमा सभामुख रहेकाले कुनै पदमा उठेका थिएनन् ।
मंगलबार ओली निकट केन्द्रीय सदस्य महेश बस्नेतले सचिवमा र आइतबार भीम रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेका थिए ।