काठमाण्डौँ – १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई उनको गुटबाट पूर्ण समर्थन थियो । तेस्रो धार जन्माएका कृष्ण सिटौलालेसमेत दोस्रो चरणमा साथ दिएपछि देउवा सभापतिमा सजिलै निर्वाचित भए । तर अहिले अवस्था त्यस्तो छैन
देउवा गुटका प्रभावशाली नेता विमलेन्द्र निधी आफै सभापतिको उम्मेदवार बन्ने भन्दै देउवाको गुटबाट बाहिरिएका छन् । सिटौलाले भने अहिलेसम्म स्पष्ट रुपमा कुनै पनि संकेत दिएका छैनन् । अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेल एकपटक कांग्रेसको नेतृत्व गर्न चाहन्छन् । उनलाई अघिल्लो महाधिवेशनमा बलियो साथ मिलेको थियो । तर अहिले पौडेल समुह पनि भत्किएको छ ।
यो समुहबाट त पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला पनि सभापतिको उम्मेदवार बन्ने अभियानमा छन् । पौडेल समुहबाट एक जना साझा उम्मेदवार बनाएर देउवालाई हराउने विषयमा पटकपटक छलफल भए पनि अहिलेसम्म चारै जनाले सभापतिको उम्मेदवार बन्ने अडान छाडेका छैनन् ।
पौडेल समुहका नेता प्रकाशमान सिंह र शशांक कोइरालाबीच त आरोप प्रत्यारोप नै चलिसकेको छ । स्वयम पौडेल र सिंहबीच पनि सम्बन्ध बिग्रिएको चर्चा भइरहेको छ । यद्यपी दुई नेताले विहिबार भेटघाट गरेर संवादहिनता तोड्दै एकठाउँ रहेको सन्देश दिने प्रयास गरे । तर सभापतिको उम्मेदवारीबारे भने ठोस निष्कर्ष निकाल्न सकेनन् ।
प्रतिक्रिया