राजनीति

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजना विफल, कुन पदमा कस्को सम्भावना ? (भिडियोसहित)


काठमाडौँ — महाधिवेशनको मिति नजिकिएसँगै नेकपा एमालेमा नेतृत्वको विषयलाई लिएर विभिन्न खाले चर्चा परिचर्चा सुरु भएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै सर्वसहमतिमा नेतृत्वमा दोहोरिने केपी ओलीको सपनामा तुषारापात मात्र आएन, सहमतिमै पदाधिकारी घोषणा गर्ने योजना पनि अलपत्र पर्ने निश्चित छ ।

नेकपा एमालेको १० औं माहाधिवेशन आउन पाँच दिनमात्र बाँकी रहँदा नेताहरु आ आफ्नो पद सुरक्षित गर्न अध्यक्ष केपी शर्मा ओलीलाई दवाव दिन व्यस्थ छन् । पार्टीको १५ पदाधिकारीमा ३० भन्दा बढी नेताहरुले दाबी गर्न थालेपछि सहमतिमा नेतृत्व चयन गर्ने ओलीको योजनामा धक्का पुगेको छ । अस्थित्वमा रहेका तीनै गुठका नेताहरु आ आफ्नो पक्षमा लभिङ गर्दै विभिन्न पदमा आकांक्षा व्यक्त गर्दै गर्दा सहमतिमा पदाधिकारी छान्ने विषय अध्यक्षलाई फलामको चिउरा चपाएसरी हुने निश्चित छ । त्यसमा पनि अध्यक्षमा सर्वसम्मत हुने ओलीको योजना उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरसँगै अधुरो हुने निश्चित बनेको छ ।

भीम रावलले मात्र होइन, माधव नेपाल समूहबाट विद्रोह गरेर १० बुँदे सहमति गर्दै एमालेमै रहेका अर्का नेता घनश्याम भूसालले पनि अध्यक्षमा उम्मेद्वारी दिने दाबी गर्दै आएका छन् । यद्दपी उनले उम्मेद्वारी घोषणा भने गरिसकेका छैनन् । उपमहासचिव भैसकेका भूसालले महासचिव बन्ने सम्भावना नदेखेपछि हार खाए पनि अध्यक्षमै लडेर चित्त बुझाउने तयारीमा छन् । अध्यक्षमा मात्र होइन १० औं महाधिवेशनबाट सुरुवात हुन लागेको वरिष्ठ उपाध्यक्ष पदमा पनि तीनभन्दा धेरै नेताहरुले दाबी गरेका छन् । महासचिव इश्वर पोखरेल र सुवास नेम्वाङदेखि पूर्व माओवादी नेता रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका छन् ।

यता पार्टीको महत्वपूर्ण मानिने महासचिव पदमा पनि तीनभन्दा बढी नेताले दाबी गर्दै आएका छन् । सचिवमा दाबी गर्नेको संख्या एक दर्जन नाघेको छ । यसले सहमतिमै पदाधिकारी छान्ने अध्यक्ष ओलीको तयारीमा ठेश लाग्ने देखिन्छ ।

माधव नेपाल समूह छुटेपछि अब एमालेमा कुनै विवाद नरहेको र पार्टी एक रहेको सन्देश दिनकै लागि अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने विषय अगाडि सारेका थिए । तर तीन समूहका नेताहरुको व्यवस्थाजन गर्न नसक्दा पदाधिकारी मात्र होइन स्वयम् अध्यक्षमा पनि सर्वसम्मत हुने ओलीको योजना असफल हुने निश्चित देखिन्छ ।