राजनीति

मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन नसकिने अध्यक्ष ओलीको भनाई


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताउनुभएको छ । शान्ति सम्झौताको १५ वर्ष पुगेको सन्दर्भमा ओलीले विज्ञप्ति जारी गरेर आफूले सरकारको नेतृत्व गर्दा संक्रमणकालीन न्यायका बाँकी कार्यभार सम्पन्न गर्न प्रयास गरेको बताउनुभएको छ । तर, द्वन्द्वमा संलग्न परस्परविरोधी पक्षका फकर–फरक चासोले गर्दा अवरोध पुगेको ओलीको तर्क छ ।
ओलीले संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टीको अवधारण बुँदागत रूपमा अगाडि सार्नुभएको छ । सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा एमाले रहेको उहाँले बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात् गर्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्ने मान्यता राखेको ओलीको भनाइ छ ।