राजनीति

‘प्रचण्ड’कै नेतृत्वमा राजनीतिक परिवर्तन सम्भव भएको हो : अर्थमन्त्री मन्त्री शर्मा


काठमाडौँ — अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् ।

पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताएका हुन् ।

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले त्यसो गर्दा मात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताए। नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यमहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आइपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तवादबाट मुक्त गर्न सक्षम भएको उनले बताए ।

‘समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होइन् । परम्परागत लोकतन्त्र होईन, यो । यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पुर्‍याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा ग¥यो, यो अभियान कसले थालनी गर्‍यो ? यो आँट कसले गर्‍यो ? भन्ने कुरा स्वतः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ । (नेकपा –माओवादी) ले गरेको यो हो आँट ।

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।