राजनीति

नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दैछ । देशभरका वडामा आज एकैपटक सम्मेलन गर्न लागिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

महराका अनुसार हालसम्म करिब आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएका छन् । माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न भनेको छ । निर्वाचन हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न आग्रह गरिएको महराले बताउनुभयो ।

माओवादी केन्द्रले मंसिर ११ गते सबै स्थानीय तह र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौं हुँदै छ ।