राजनीति

सर्वोच्चको पूर्ण बैठकको निर्णय : गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिका पारित


काठमाडौँ — सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बाहेकका न्यायाधीशहरूको आज बसेको बैठकले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो ।

पूर्ण बैठकले नियमावली संशोधन गर्ने तथा निर्देशिका पास गर्ने निर्णय भएको सर्वोच्च स्रोतले जनाएको छ ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट पेसी तोक्ने छ । आजको निर्णयसँगै करिब तीन सातादेखि अवरुद्ध इजलास सुरु हुनेछ। स्रोतका अनुसार नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो। यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।

नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामाको माग भने कायमै रहने जनाएका छन् ।

प्रधानन्यायाधीश राणाले भदौ १६ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने प्रतिबद्धता जनाएका थिए। अदालतको विकृति सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गोलाप्रथाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुझाव दिएको थियो।

नेपाल बार एशोसिएसनका पदाधिकारीसँग पटक–पटक गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने प्रतिवद्धता जनाए पनि राणाले प्रतिवद्धता कार्यान्वयन नगरेपछि सिंगो कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन्।