देश

आफूविरुद्ध भ्रामक समाचार सम्प्रेषण भएको भन्दै योगेश्वर पुगे प्रेस काउन्सिल


काठमाडौँ – गायक योगेश्वर अमात्यले आफूविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरि चरित्र हत्या गरिएको भन्दै एक सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराउनुभएको छ । बाराको विश्रामपुरस्थित १२ विघा जमिनको नक्कली धनीपूर्जा बनाई किर्ते गरि बैकिंङ कसुर गरेको घटनामा स्वंयम जग्गाधनी यागेश्वर अमात्य शंकाको घेरामा रहेको आशयको समाचार सम्प्रेषण भएपछि सनसाइज खबर डक कम विरुद्ध प्रेस काउन्सीलमा उजुरी दर्ता गरेको अमात्यले बताउनुभयो ।

उहाँले आफ्नो जग्गाको नक्कली पूर्जा बनाई विक्री गरेको घटनाबाट पीडित भई प्रहरीमा उजुरी गरेको र सीआईबीले उक्त घटनाको अनुसन्धान गरिरहेको बेला पीडितलाई नै आघात पुग्ने गरि समाचार प्रकाशन भएकोमा दुःखः व्यक्त गर्नुभयो । काउन्सीलमा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘पीत पत्रकारीता गरि आचारसंहिता तथा कानुनको गम्भीर उल्लंघन गरेको र जानी जानी मेरो मान हानी हुने गरि प्रायोजित समाचार प्रकाशन प्रसारण गरेको हुनाले हदैसम्मको कारवाही गरि पाउँ ।’

अमात्यको स्वामित्वमा रहेको उक्त जग्गाको नक्कली धनीपूर्जा तयारी पारी उक्त जग्गा धितो राखी कुमारी बैँकबाट १९ करोड रुपैयाँ ऋण लिएको घटना गत हप्ता सार्वजनिक भएको थियो । गायक अमात्यले सक्कली जग्गाधनी आफू भएको भन्दै घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी गर्नुभएको थियो । सोही आधारमा व्यूरोले घटनामा संलग्न रहेको भन्दै ५ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

घटनाको सत्यतथ्य अनुसन्धान भइरहेकाले अनर्गल प्रचारको पछि नलाग्न सीआईबीका प्रवक्ता एवं प्रहरी उपरिक्षक स्याम कुमार महतोले आग्रह गर्नुभयो ।