राजनीति

पौडेल र सिटौलाको आडमा सभापतिमा दोहोरिने देउवाको लक्ष्य पूरा होला ?


काठमाडौँ – गुटगत विवादका कारण लामो समयदेखि अन्योलपूर्ण रहेको कांग्रेसको महाधिवेशन अव भने तोकिएकै मितिमा सम्पन्न हुने सम्भावना बढेको छ । गत आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन लक्षित विभिन्न समिति गठन गरेसँगै कांग्रेसमा महाधिवेशनको सुनिश्चिता भएको हो । पटक पटक महाधिवेशन मिति सार्दै आएको नेपाली काँग्रेसले अन्तत मंसिर २७ देखि पौष १ गतेभित्रै महाधिवेश गर्ने भएको छ । आईतबार सभापति देउवा निवासमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले समिति नै बनाएर महाधिवेशनलाई सुनिश्चता प्रदान गरेसँगै पाँचौ पटक तय गरेको मितिमा जसरी पनि महाधिवेशन हुने दाबी नेताहरुले गर्न थालेका छन् ।

यससँगै नेतृत्वका लागि पार्टीको संस्थापन र संस्थापन इतर दुवै खेमाका नेताहरू प्रतिस्पर्धामा उत्रन थालेका छन् । केन्द्रीय महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा दुवै पक्ष आ–आफ्नो ‘प्यानल’ घोषणाको तयारीमा जुट्न थालेका छन । पार्टी सभापति र महामन्त्री पदका लागि धेरै नेताहरु आकाक्षी देखिए पनि अन्य पदमा कुन नेता कुन पदमा इच्छुक वा प्रतिस्पर्धा गर्दै भन्ने विषय सतहमा देखिएको छैन ।

यता महाधिवेशनको चर्चा अगाडि नै दोस्रो पटक पार्टी सभापति बन्ने होडमा रहेका देउवाले थप सक्रियता बढाएका छन् । संस्थापन पक्षबाट लामो समय देउवालाई सघाउँदै आएका पार्टी उपसभापति विमलेन्द्र निधि छुट्टै समिकरण सहित सभापतिको दौडमा उत्रिने पक्का छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठ अझै पनि देउवाको सहयोगको अपेक्षमा छन ।

यता देउवाले पार्टीभित्रै प्रतिपक्षमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाएर खुसी बनाउने प्रयास गरेका छन् । यद्दपी पौडेल संयोजक रहेको उच्चस्तरी समितिप्रति पौडेल समूहकै नेताहरुले असन्तुष्टी जनाएका छन् । असन्तुष्टि जनाउनेमा प्रकाशमान सिंह र गगन थापा अग्रपंतिmमा छन । जसका कारण पौडेल समूहका नेताहरुबीच दुरी बढेको छ ।

देउवाको विकल्प आफुलाई मात्र ठान्ने इतर गुटका नेताहरुमा उत्पन्न कलहले प्रत्यक्ष फाइदा देउवालाई नै पुगेको छ । पौडेल खेमामा आएको दुरीका कारण नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सत्ता समिकरण अझ रोचक हुने देखिन्छ । यद्दपी कांग्रेसमा सुधार ल्याउन महाधिवेशनबाट नयाँ नेतृत्व छान्नुपर्र्नेे कतिपयको तर्क छ ।

कांग्रेसको आसन्न महाधिवेसनमा सभापति र महामन्त्री पदका लागि चर्को प्रतिस्पर्धा हुने प्रष्ट छ । पौडेल र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर अगाडि बढे सभापति बन्न सहज हुने देखेरै पछिल्लो समय देउवा उनीहरुप्रति उदार देखिने गरेका छन् । के देउवाले महाधिवेशन सम्म नै उनीहरुसँग सहकार्य गरेर पुन सभापतिमा बाजी मार्लान् ? पुसको पहिलो सातामै यस विषयको छिनोफनो हुने नै छ ।