राजनीति

नेपाल बन्दले सर्वसाधारणको जनजीवन कष्टकर, मूल्यवृद्धि फिर्ता नहुने निश्चित


काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँमा समान्य परेको छ । मंगलवार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको हो । यता सर्वसाधारण भने बन्दले मुल्य नियन्त्रणमा नआउने भन्दै दैनिकी कष्टकर बनेकोमा आक्रोशित देखिन्छन् । काठमाडौं उपत्यकामा विप्लवले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै नेपाल बन्द गरेको हो ।

बिहानको समयमा सडकमा कम सवारीसाधन देखिएको थियो । तर, दिउसो सार्वजनिक सवारी कम चले पनि निजी सवारी भने निर्वाध रुपमा चलेका थिए । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको थियो । बन्दका कारण सार्वजनिक यायायात नचल्दा यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रुहरु गाडी कुरिरहेका देखिन्थे । कतिपय सर्वसाधारण भने मुल्य बृद्धि भईरहेको बेला मुल्य नियन्त्रण हुन्छ भने बन्द गर्नु उचित नै हुने बताउछन् ।

तर, कतिपय सर्वसाधारण भने नेपाल बन्दले सास्ती खेप्नु परेको बताउछन् । बिहान कमाएर बेलुका छाक टार्नुपर्ने व्यक्तिलाई यसले धेरै नै असर गरेको बताउछन् । यो सब जनतालाई दुख दिनको लागि नै बन्द गरेको उनीहरुको तर्क छ । अब यो देशमा जनता एक जुट नभईकन जोसुकै जे गरे पनि मुल्य नियन्त्रणमा नआउने उनीहरुको बुझाइ छ ।

पेट्रोलियम पदार्थलगायतको मूल्य वृद्धिको बिरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण काठमाडौं उपत्यकाका जनजीवनमा प्रभावित त परेको नै छ । तर, सबै भन्दा बढि मजदुरहरुलाई मर्कामा परेका छन् । झट्ट हेर्दा तेलको भाउ बढेको विरोधमा जनताका लागि बन्द आह्वान गरेको भन्ने देखिन्छ ।

तर बन्दका अनेक प्रकारबाट वाक्क दिक्क भएका जनता चाहिँ बन्दको पक्षमा देखिदैनन् । जनताका लागि गरिएको भनिने बन्दको पक्षमा आयोजक मात्रै हुने जनता चाहिँ नहुने थितिले आन्दोलनको स्वरुप बदल्नु पर्छ भन्ने सन्देश दिएको छ । यसप्रति सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ ।