राजनीति

काँग्रेसमा सभापतिको रडाको, पौडेल पक्ष विभाजित (भिडियोसहित)


काठमाडौँ – पार्टीको १४ औं महाधिवेशन नजिकिएका बेला नेपाली काँग्रेसको संस्थापनइतर पक्ष विभाजन उन्मुख बनेको छ । सभापति दाबी गरिरहेका प्रमुख चार दाबेदारबीच नै कुरा नमिल्दाथप संकट निम्तीएको हो ।

भविष्यमा महत्वपूर्ण पद दिने प्रस्तावसहित प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकार संचालनका लागि समन्वय गर्न बनेको उच्चस्तरिय राजनीतिक समितिको संयोजक दिए । पौडेल पनि पाँच दलीय संयन्त्रको संयोजकबन्न पाउने भएपछि देउवाको प्रस्तावमा राजी भए। तर पौडेलले समुहभित्र परामर्श नै नगरि संयोजकको लोभ परेपछि यसै विषयमा असन्तुष्टि जाहेर गर्दै नेता प्रकाशमान सिंह पौडेलसंग टाढीएका छन् । फलतः सिंह शुक्रबार बसेको पौडेल पक्षको भेलामा सहभागि नै भएनन् । जसलाई पौडेल पक्षबाट सिंह अलग्गीएको अर्थमा बुझिएको छ ।

मन्त्रिपरिषद् विस्तारमा आफूसँग कुनै परामर्श र छलफल नगरेको भन्दै नेता सिंह यसअघि नै असन्तुष्ट बनेका थिए । सिंहले काठमाडौंबाट निर्वाचित सांसद राजन केसीलाई मन्त्री बनाउन चाहेपनि पौडेल र कोइरालाले आफूहरुका तर्फबाट रक्षामन्त्रीमा मिनेन्द्र रिजाल र कानुनमा दिलेन्द्रप्रसाद बडुलाई पठाए । त्यहीबेला देखि पौडेल–कोइरालासँग सिंहको दूरी बढेको हो । सिंह संसदीय दलको चुनावमा सभापति देउवासँग पराजित भए । त्यतिबेला पनि महामन्त्री कोइरालाले संसदीय दलको चुनावमा आफूलाई असहयोग गरेको सिंह पक्षले आरोप लगाएको थियो ।

यता सभापतिका अन्य दाबेदार शशांक, शेखर र पौडेलबीच नै कुरा मिलेको छैन ।यी प्रमुख दाबेदारहरु जतिसक्यो सहमतिमै उम्मेद्वारी दिने पक्षमा छन् । सहमतिमा भनेको मतलब आफुलाई सबैले उम्मेद्वारी मानिदिए ठिक छ । नभए गुटबाटै विभाजित भएर अघि बढ्ने । जसको स्पष्ट मार्गचित्र शुक्रबारबत्तिसपुतलीमा बसेको पौडेलपक्षको भेलाले कोरेको छ ।देउवाका विरुद्ध जान सक्ने र टक्कर दिएर चुनाव जित्न सक्ने आफुमात्रै भएको दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला पनि सहमतिबारे ढुक्क छैनन् । उनले आफ्नो पक्षबाट एक उम्मेद्वार बनाएर जान नसके देउवालाई सभापति बुझाईदिए हुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

हालसम्म विवाद समाधानको खाका तयार छैन ।एकले अर्काको अस्तित्व स्वीकार्ने साहस कसैमा देखिदैन ।रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । कि सहमति गर्ने कि आफुलाई जिम्मा लगाएर अरुपाखालाग्नुपर्ने ।फलत यसै विवादमा फसेको पौडेल पक्ष महाधिवेशनसम्म झनै संकटमा फस्ने देखिन्छ । यसले आगामी महाधिवेशनमार्फत सभापतिमा दोहोरिन चाहेका देउवालाई भने फाइदै हुनेछ ।तर देउवा पनि आगामी महाधिवेशनबाट पुनः नेतृत्वमा आउन लायक नभएको विश्लेषण गरिएको छ ।

देउवा यसअघिदेखि पौडेल पक्षमा भाँझो हालेर आफु सफल हुने रणनीतिमा थिए । जुन क्रमशः योजना बमोजिम नै सफल भएको छ । यसका लागि उनले पौडेललाई सरकार सञ्चालनका लागि बनेको उच्चस्तरिय राजनीतिक समितिको संयोजक बनाएका छन् । कृष्णप्रसाद सिटौला हातमै छन् । अन्य नेतालाई पनि फकाएर पुन सभापतिमा दोहोरिने तयारीमा देउवा रहेका छन् ।