राजनीति

गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनु पर्ने बाबुरामको धारणा


काठमाडौँ – जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनु पर्ने बताएका छन् । उनले लाप्राक, धार्चे, चुमनुव्री र बारपाकलाई समेटर छुट्टै जिल्ला बनाउनु पर्ने बताएका हुन् ।

संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियानमा रहेका नेता भट्टराईले लाप्राकमा भएको कार्यक्रममा बोल्दै संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको र उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनु पर्ने अभिव्यक्ति दिएका हुन् ।

कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा मुद्दा बनाएर अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।

गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्‍न गाउँ पुगिसकेका छन् । सुज अभियान अन्तर्गत भट्टराई यतिबेला जिल्लाको ग्रामिण भेगमा छन् । ११ दिनसम्म चल्ने उक्त सुज अभियान मंसिर ३ सम्पन्न हुने छ ।