काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिष्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । पार्टीको एक सय वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको यो दस्ताबेजमा पार्टीका महत्त्वपूर्ण उपलब्धिहरू र भावी दिशाबारे सम्बोधन गरिएको छ ।
हिजो चीनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा यो दस्ताबेज पारित भएको हो । पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो । पहिलो पटक सन् १९४५ मा माओत्से तुङ् र दोस्रो पटक सन् १९८१ मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका बीबीसीले जनाएको छ । यो कदम पार्टीका संस्थापक माओ र उहाँका उत्तराधिकारी दङसँग सीलाई बराबरीको हैसियत प्रदान गर्नेप्रति लक्षित रहेको खबरमा उल्लेख छ ।
आउँदो वर्ष हुने नेशनल कंग्रेस बैठकमा सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ । सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ ।
प्रतिक्रिया