काठमाडौँ – अष्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । गएराति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।
पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए । उनले ३० बलमा तीन छक्का र तीन चौका प्रहार गरे । यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो । यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ ।
प्रतिक्रिया