राजनीति

प्रचण्डको स्वार्थमा बनेको राजनीतिक समितिमा पौडेल कसरी संयोजक ? (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन मुखमै रहेका बेला सभापतिमा पुनः सुरक्षित रहनेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चस्तरिय राजनीतिक समन्वय समिति बनाएका छन् । जसको संयोजक छन् काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल । तर समितिलाई लिएर काँग्रेसभित्र असन्तुष्टि देखिएको छ । पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले समेत नपुगेर सरकारभन्दा माथि रहनेगरि मगंलबार गठबन्धनले सरकार संचालनका लागि उच्चस्तरिय राजनीतिक समन्वय समिति गठन ग¥यो ।

जसको संयोजक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाईएको छ भने सदस्यहरुमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित पाँच दलका दुई/दुई जना सदस्य रहेका छन् । जुन संविधान विपरित भएको भन्दै राजनीतिक क्षेत्र तरंगित बनेको छ । जसमा सबैभन्दा धेरै असन्तुष्टि प्रधानमन्त्री शेरबहादुर देउवाकै दल नेपाली काँग्रेसमा देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालको चाहना बमोजिम सरकारका काममाथि प्रत्यक्ष हस्तक्षेप गर्ने गरि समन्वय समिति बनाएपछि काँग्रेसका नेताहरुले चिन्ता जनाएका छन् । सरकारलाई सल्लाह सुझाव दिन भनेर समिति गठन गरिएपनि कालान्तरमा यसले नियुक्ति लगायत भागबन्डाका विषय मिलाउन प्रधानमन्त्रीमाथि दबाब दिन सक्नेछ । त्यसका अलवा देउवाले उच्चस्तरिय समिति बनाएर महाधिवेशनमा आफु सुरक्षित हुनेनीति अख्तियार गरेका छन् । उपसभापति बिमलेन्द्र निधिको साथ गुमाएको र इतर समूहबाट पनि सभापतिका धेरै आकांक्षी भएकाले भरपर्दाे नेताको साथ खोजिरहेका देउवाले वरिष्ठ नेता पौडेललाई फकाएर समितिको संयोजक बनाई महाधिवेशनलाई आफु अनुकुल बनाएको विश्लेषण गरिएको छ ।

महाधिवेशनको मुखमै रहेका बेला संस्थापन इतर पक्षको किचलो बुझेर देउवा नेता फकाउन दौडधुपमा छन् । साझा उम्मेद्वारसमेत तय गर्न नसकेको संस्थापन इतर पक्षले भने महाधिवेशनको बारेमा ठोश छलफल समेत गरेको छैन । कृष्णप्रसाद सिटौला देउवालाई साथ दिएर अघि बढ्ने पक्कापक्की छ । यसैबेला पौडेललाई समेत भविष्यमा महत्वपूर्ण पद दिने प्रस्तावसहित देउवाले आफ्नो साथमा लिने कसरत गरेका हुन् । यसले देउवालाई आगामी महाधिवेशनमार्फत पुनः सभापतिमा मात्रै होइन, प्रधानमन्त्री बन्ने बाटोमा समेत सुरक्षित बनाउनेछ ।