राजनीति

ईश्वर पोखरेल सामेल कार्यक्रममा विवाद भएपछि सिन्धुलीमा निषेधाज्ञा


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । नेकपा एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । प्रमुख अतिथिका रुपमा पोखरेललाई निम्त्याएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क बमोजिल निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधित क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा, समारोह तथा जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।