राजनीति

छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेताहरूद्धारा सुख, शान्ति र समृद्धिको शुभकामना



काठमाडौँ – छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेताहरूले सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यसले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिनुभएको छ । विविधताभित्र एकता र सामाजिक सद्भाव सांस्कृतिक अभ्यासका उदाहरण भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले छठ पर्वले सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिनुभएको छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग पुग्ने विश्वासमेत व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले नेपाललाई एकतावद्ध बनाएको बताउनुभएको छ । कोरोना त्रास कायमै रहेको भन्दै प्रचण्डले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपिल गर्नुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छठ पर्वले समाजवादको लक्ष्यमा एकजुट भएर लाग्न सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।