राजनीति

सरकारले फेर्‍यो तीनवटा प्रदेशका प्रमुख


काठमाडौँ — सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रदेश प्रमुखमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् ।

जसअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस, कर्णालीमा नेकपा माओवादी केन्द्र र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।

सरकारले प्रदेश १ बाट एमालेका तत्कालीन नेता समेत रहेका सोमनाथ अधिकारी प्यासीलाई हटाएको हो । त्यस्तै कर्णालीबाट गोविन्द प्रसाद कलौनीलाई हटाइएको हो । सुदूरपश्चिमबाट गंगाप्रसाद यादवलाई बिदा गरिएको छ । यी तीनैजनालाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको थियो ।