राजनीति

तोकिएको समयमा महाधिवेशन सम्पन्न नभए विद्रोह हुन्छ : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न नभए विद्रोह हुने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा आएका नेता सिंहले कार्यकर्ता भेलालाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो ।

सिंहले भन्नुभयो, ‘पटक–पटक तिथिमिति तोक्ने, अनि फेरि परिवर्तन गर्ने । यसले धेरैलाई शंका भएको छ । तोकिएको मितिमा पुलिसको घेरा तोडेर भएपनि महाधिवेशन सम्पन्न गरिन्छ । अन्यथा पार्टीभित्र ठुलो विद्रोह हुन्छ।’

नेपाली कांग्रेसलाई विधि र चरित्र अनुसार हाक्न नसक्दा थुप्रै वेथिती आएको भन्दै आगामी महाधिवेशनको लागि आफू सभापतिको योग्य उमेद्वार भएको सिंहले दाबी समेत गर्नुभयो ।