काठमाडौँ – यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणमा पाकिस्तानले शतप्रतिशत जित निकालेको छ । समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान १० अंकसहित समूह विजेता बनेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य दिएको थियो । बाबरले ४७ बलको सामना गर्दै ६६ रन बनाइको थियो । मलिकले १८ बलमा ५४ रनको बिस्फोटक व्याटिङ गरेको थियो । जवाफी व्याटिङमा मैदान उत्रेको स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनायो ।
योसँगै सेमीफाइनलमा पुग्ने चार टोलीको टुंगो लागिसकेको छ । समूह २ बाट विजेता बन्दै पाकिस्तान र उपविजेता न्युजिल्याण्ड सेमीफाइनलमा पुग्न सफल भएका छन् भने समूह १ बाट इंल्याण्ड विजेता र उपविजेता अष्ट्रेलियाले पनि स्थान पक्का गराइसकेका छन् ।
भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । भारत र नामिबियाको अन्तिम खेल सोमबार हुँदैछ । सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्युजिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने दोस्रो खेल पाकिस्तान र अष्ट्रेलियाबीच हुने छ । दुई खेलका विजेताबीच कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया