समाचार

साँस्कृतिक रूपमा यमपञ्चकको के छ महत्त्व ? (भिडियोसहित)

झिलिमिली काठमाडौँ उपत्यका


काठमाडौँ — हिन्दु धर्मालवम्बीको दोस्रो महान् चाड तिहार शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार शुरु भएपछि शुक्ल द्वितीयामा भाइटीका लगाउने पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । साँस्कृतिक रूपमा के महत्त्व छ त यमपञ्चकको ?

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागको पूजा गर्ने परम्परा रहेको छ । हिन्दु संस्कृतिमा कागलाई सन्देशवाहक पक्षीको रूपमा लिइन्छ । मृत्युदेव यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर कागको पूजा गर्ने परम्परा चलेको हो । यो वर्ष कुकुर र काग पुजा एकै दिन परेको थियो । कुकुर आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अध्ययन–अनुसन्धान प्राकृतिक विपत्तिमा पूर्वसूचना दिन प्रभावकारी मानिन्छ । त्यसैले तिहारमा कुकुरलाई मनपर्ने खाना ख्वाई पूजा गरिन्छ । तेस्रो दिन धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीकका रुपमा लक्ष्मीको पूजा गरिन्छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

कार्तिक कृष्ण औँसीको अँध्यारो रातमा घरघरमा दीपावलीसहित लक्ष्मीको पूजाआराधना गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश लक्ष्मीपूजाले दिने बताइन्छ । कतिपय संस्कृतिकविद् तिहारको महत्वलाई यसरी लिन्छन् ।

तिहारको चोथौ दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा गरिन्छ । यसैदिन कृषकको सहायक पशु गोरूको पनि पूजा गर्ने प्रचलन रहेको छ । तिहारको अन्तिम दिनलाई भाईटीकाको संज्ञा दिइएको छ । दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाइदिएपछि तिहार अर्थात शुभदीपावली समापन हुन्छ ।