राजनीति

तिहारमा गाउँ फर्किनेलाई कोरोनाविरुद्ध खोप व्यवस्था


काठमाडौँ – पर्याप्त खोप उपलब्ध भएसंगै सरकारले सर्वसाधारणका लागि सार्वजनिक स्थानमा नै खोप लगाउने व्यवस्था मिलाएको छ । तिहार मनाउन गाउँ फर्किनेहरुलाई बसपार्क र मुख्य चोकमै धमाधम कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको हो । यता सर्वसाधारणले कोरोनाबिरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताएका छन् ।

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ ।

आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन दिएको खबर सुनेपछि कोरोनाबिरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरुले बताए । सर्वसाधारणहरुले सरकारले गरेको यो व्यवस्था उचित लागेको प्रतिक्रिया दिए । उनीहरुले कोरोनाबिरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित भएको समेत महशुस गरेको बताए । यता विज्ञले पनि संक्रमणबाट जोगिने प्रभावकारी उपाय खोप नै रहेकोले सरकारले जति सक्दो छिटो खोप उपलब्ध गराउनु पर्ने बताइरहेका छन् ।

सरकारले दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म लगाउने व्यवस्था मिलाएको थियो । नागरिकलाई आफ्नो परिचयपत्र देखाएर खोपलगाउन पाउने व्यवस्था मिलाइएको छ । आवस्यक खोपको सुनिश्चितता भएसँगै आगामी चैतभित्र सबै नागरिकलाई खोपको व्यवस्था गर्ने सरकारको प्रतिवद्धता पूरा हुने देखिएको छ ।