समाचार

जताततै तिहारको रौनक, बजारमा थामिनसक्नुको भिड


काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको भिड बढेको छ । तर, किनमेल गर्नेको भिड बढ्दा कतिपय व्यवसायीहरु उत्साहित छन् भने कतिपय व्यवसायीहरु भने व्यापारबाट सन्तुष्ट हुन सकेका छैनन् । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेेको भिड थामिनसक्नु छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भइसकेको छ । झिलिमिली तथा फुलहरुको पर्व तिहारको रौनक बढेसंगै शहरका चोक तथा बजारमा फुल र मालाको किनबेच बढेको छ । विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

तिहारमा प्रयोग हुने तामा र पित्तलका भाँडा फूलको माला, भाइमसला, सप्तरंगी टिका तथा झिलीमिली बत्तीलगायत सामग्रीले यतिवेला बजार झकिझकाउ छन् । अहिले बजार पुग्दा लाग्छ काठमाडौं नै किनमेलमा ब्यस्त छ । गत वर्ष कोरोना कारणले गर्दा व्यापार नभए पनि यो वर्ष भने कतिपय व्यवसायीहरु व्यापारबाट सन्तुष्ट छन् ।

निम्न बर्गीय र मध्यवर्गीय परिवारका व्यक्तिहरु बाहिरी बजारमा भेटिन्छन् भने आम्दानीको ठूलो स्रोत हुनेहरु सपिङ मलहरुमा पुगेका छन् । कतिपयलाई भने अहिले फुलको माला मंहंगो भएको कारण व्यापार हुन नसकेको फुल व्यवसायीहरु बताउछन् ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको घुइचोले तिहार पर्वको रौनकलाई नै दर्शाएको छ । त्यसमा पनि तिहारको लागि भनेर सयपत्री, मखमली, झिनिया रोटी, ओखर मात्रै नभइ लक्ष्मीको फोटोहरु पनि विक्रीका लागि राखिएका कारण पनि बजार धपक्कै बलेको देखिन्छ ।