राजनीति

जलवायु परिवर्तन कोप २६ को गम्भीर विषय


काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा सहभागी राष्ट्र प्रमुखहरुले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भिरतापूर्वक लिएका छन् । अक्टोवर ३१ देखि बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ चलिरहेको छ ।

सो सम्मेलनमा नेपाल लगायत विश्वका १२० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधि मण्डलको सहभागिता रहेको छ । नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सो सम्मेलनमा सहभागी छ । सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विपत्तिको बारेमा छलफल गरिरहेको छ ।

यसै सन्दर्भमा सम्मेलनमा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलका एक सदस्य डा. धर्मराज उप्रतीले सम्मेलनमा निकै नै गम्भिरतापूर्वक सहभागी राष्ट्रहरुले भाग लिइरहेको बताउनुभयो । उपस्थित राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु जलवायु परिवर्तनले खतरा उत्पन्न गराउन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा चिन्तित देखिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा खासगरी जलवायु परिवर्तनको चपेटामा परेका नेपाललगायतका साना राष्ट्रहरुले कार्बनउत्र्सजन नियन्त्रणका लागि सन् २०२० देखि नै परिचालित हुनुपर्ने रकम हालसम्म परिचालन हुन नसकेकोमा गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो सो कोष परिचालन हुनुपर्नेमा जोड दिएको डा. उप्रेतीले बताउनुभयो ।