समाचार

तिहारको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइयो, बजारमा तिहारको रमझम बढ्यो


काठमाडौँ – तिहारको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँएको हो ।

बिहान सवा ७ बजेसम्म काग तिहार र त्यसपछि कुकुर तिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आजको दिन कुकुरलाई मिठो–मिठो परिकार खुवाइ, फूलमाला लगाएर पूजा गर्ने प्रचलन रहँदै आएको छ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिँदै आइएको छ ।

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखाले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराएको नेपाल प्रहरी केनाइन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक डा. देउती गुरुङले बताउनुभयो ।

महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।