राजनीति

सन् २०३० भित्र वन विनाश रोक्न जलवायु सम्मेलनमा सहभागी नेताहरू सहमत



काठमाडौँ – जलवायु सम्मेलन कोप–२६ मा सहभागी विश्वका सयभन्दा बढी देशका नेताहरूले सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएका छन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप–२६ मा यसबारे महत्त्वपूर्ण सहमति भएको हो ।

पछिल्लो समय ब्राजिलको एमेजन वर्षावन विनाश हुँदै गएको छ । ब्राजिलले पनि सहमतिको पक्षमा हस्ताक्षर गरेको जनाइएको छ । उक्त वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९.२ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुनेछ । जलवायु क्षेत्रका विज्ञहरूले पछिल्लो कदमको स्वागत गर्दै सन् २०१४ मा वन विनाश रोक्न गरिएको एउटा सहमति प्रभावकारी नभएको औंल्याएका छन् । त्यसैले वचनबद्धता सार्वजनिक गरिनुभन्दा पूरा हुनुपर्ने उनीहरूको जोड छ ।

रूख काटेपछि पृथ्वीलाई तताउने कार्बनडाइअक्साइड ग्यास सोस्ने वनजंगल मासिने भएकाले जलवायु परिवर्तन हुन्छ । सम्मेलनको आयोजकका रूपमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार कोप–२६ मा सम्बोधन गरेका छन । उनले पृथ्वीमा रहेको वन जोगाउन तथा बढाउन एउटा महत्त्वपूर्ण सहमति भएको बताए । सहमतिमा क्यानडा, ब्राजिल, रुस, इन्डोनेसिया र कंगोले पनि सहमतिमा हस्ताक्षर गर्नेछन् । ती देशमा विश्वभरको ८५ प्रतिशत वन क्षेत्र पर्छ । १९.२ अर्ब डलरमध्ये केही रकम वन क्षेत्र पुरानो अवस्थामा फर्काउन, डढेलोसँग संघर्ष गर्न र स्थानीय आदिवासी समुदायलाई सघाउनका लागि खर्च गरिने जनाइएको छ ।

२८ देशले खाद्य पदार्थ तथा पाम तेल, सोया र कोकाजस्ता अन्य कृषिजन्य वस्तुको व्यापारमा वन विनाश हटाउने वाचा गरेका बीबीसीले जनाएको छ । त्यसैगरी, विश्वका ३० भन्दा बढी ठूला कम्पनीले वन विनाशलाई प्रश्रय दिने गतिविधिमा लगानी नगर्ने वाचा गरेका छन ।