राजनीति

ओलीको दम्भकै कारण एमालेले गुमायो संघ र प्रदेशमा सत्ता, अझै के–के गुमाउला ? (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र घमण्डकै पार्टी पूर्णप्रतिपक्ष बनेको छ । तर सत्तादेखि पार्टी र आफैले गरेका नियुक्ति गुमाएर शक्तिहिन बन्दा पनि ओलीमा दम्भ र आडम्बर कम भएको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अब गुमाउन बाँकी केही रहेन । कुनैबेला संघसहित चारवटा प्रदेश सरकारको बलियो बागडोर सम्हालेको एमाले अहिले रित्तिदै–रित्तिदै सबै सरकार गुमाएर पूर्ण प्रतिपक्ष बनेको छ । जेठ २८ मा गण्डकी प्रदेशको नेतृत्व गुमाएको एमालेले त्यसको ठ्याक्कै एक महिनापछि असार २८ मा सर्वाेच्चको परमादेशबाट संघीय सरकारको नेतृत्व गुमाए । त्यसको अर्काे एकमहिनापछि उस्तै सत्ताच्यूत लुम्बिनी प्रदेश सरकारबाट समेत हुनुप¥यो ।

साउन २७ मा शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकारबाट हात धुनु परेपछि बाँकी दुई प्रदेशको नेतृत्वमा खुम्चिएको एमाले पछिल्लो एकसाताकै अवधिमा त्यहाँबाट समेत बाहिरीएको छ । कात्तिक १० मा बागमतीबाट बहिर्गमित भएको एमाले कात्तिक १५ मा आएर प्रदेश एकबाट समेत सत्ताच्यूत भएको हो । मंगलबारबाट आधिकारिक रुपमै पूर्ण प्रतिपक्ष बनेपछि एमालेका लागि सत्ता पाठ बाहेक अरु बनेको छैन । ओलीकै कार्यशैलीका कारण हुँदाखाँदा सरकारबाट एमाले बाहिरीएको छ । तर उस्तै दम्भ, उस्तै घमण्ड, उस्तै हुँकार र ओलीको कार्यशैली भने फेरिएको छैन ।

संघदेखि प्रदेशसम्मै एमाले ठुूलो पार्टी हो । संख्याका हिसावले ठुलो भएपनि अध्यक्ष ओलीको आडम्बरकै कारण एमालेले सबैतिरबाट सत्ता मात्रै गुमाएको छैन, पार्टीसमेत एक रहन सकेन । ओलीको कार्यशैली र दम्भकै कारण १५ बर्ष पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले फरक पार्टी बनाएका छन् । एमालेका लागि माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी नै आगामी चुनावमा क्षतिको कारण र चुनौति बन्ने देखिन्छ । तर ओली सर्वधा शक्तिशाली मै हुँ भन्ने दम्भ पालिरहेका छन् । जसले आगामी निर्वाचनमा समेत एमालेलाई क्षति नगर्ला भन्न सकिन्न ।

सत्ता र सग्लो पार्टी गुमाएर आफुले गरेका राजनीतिक नियुक्तिहरु समेत गुमाइरहेका ओलीले संवैधानिक नियुक्तिहरु गुमाउने भय पनि उत्तिकै छ । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई भाग दिएकै कारण ओली सुरक्षित महशुस गरिरहेका छैन । अझ पछिल्लो समय प्रधानन्यायाधीश राणाको चौतर्फि राजीनामा माग भइरहेका बेला ओली बचाउमा छन् । जसको कारण हो, राणासंग मिलेर हिस्सेदारी गरिएका नियुक्तको बचाउ गर्नु । तर परिस्थिति प्रतिकुल बन्दै गएकाले यहाँबाट समेत कतिबेला हात धुनुपर्छ एकिन छैन । तर पनि दम्भ र आडम्बर देखाएर ओली आफुमाथिको क्षति लुकाउने काममा व्यस्त छन् ।