देश

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु


काठमाडौँ – भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो ।

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले राजदुत नियुक्त गर्न सिफारिस गरेका राजदुतहरुविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदुतहरुविरुद्ध उजुरी दिन आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । उहाँले सो उजुरीको सूचना भोली बुधबार सरकारी सञ्चार माध्यामबाट प्रकाशित गरी नागरिकलाई सो बारे जानकारी दिन समितिका सचिवलाई निर्देशन समेत दिनु भयो ।

प्रस्तावित राजदुतविरुद्ध १० दिन भित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।