राजनीति

चाडपर्वका वेला कोभिड संक्रमण बढ्न नदिन आवश्यक सुरक्षा रणनीति अपनाउन गृहमन्त्रीको निर्देशन


काडमाडौँ – कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका वेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा अलर्ट रहन मुलुकका चारवटै सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ ।
आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले यस्तो निर्देशन दिनुभएको हो ।

समितिको बैठकमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालसहित नेपाली सेनाका उपरथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारी सहभागी थिए ।

बैठकमा कोभिड–१९ संक्रमण नियन्त्रणका विषयमा समेत छलफल भएको थियो । खाँणले कोभिड–१९ पुनः संक्रमण हुन नदिन आवश्यक सुरक्षा रणनीति अपनाउन पनि निर्देशन दिनुभएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि सहभागी हुनुभएको थियो ।

छलफलको क्रममा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले कोभिड संक्रमण नियन्त्रण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ ।