राजनीति

सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैँ, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरु भइरहेको बताउनुएको हो ।

गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उहाँले बताउनुभयो । गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजि भइरहेको पनि उहाँले जिकिर गर्नुभयो । वैदेशिक शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजिमा लागिरहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताउनुभयो । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उहाँले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताउनुभयो । आजै बिहान अर्को एक कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको थियो ।