देश

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय नाकामा परिचयपत्र अनिवार्य


काठमाडौँ – केन्द्रीय सुरक्षा समिति बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको थियो ।

अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समितिले गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकले गरेको छ । पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय पनि बैठकले गरेको छ ।