राजनीति

कुटाकुटपछि वकिलको बयान : गणतन्त्र ढल्यो, राजतन्त्र आउँछ भन्दै रोए (भिडियोसहित)


काठमाडौँ – अधिवक्ताहरु बहस गर्न मात्रै माहिर छैनन् । मुद्दा जिताउन र हराउन मात्रै पनि खप्पीस छैनन् । न्यायिक क्षेत्र जस्तो बौद्धिक र सम्मानित भूमि सर्वाेच्चको परिसरभित्रै मुक्कामुक्की गर्न माहिर छन् ।

शुक्रबार मध्यान्ह नेपाल बार एशोसिएशन जस्तो न्यायिक क्षेत्रभित्रै दुई वकिलबीच कुटाकुट भयो । शुरुमा हात हालाहाल, ठेलाठेल र त्यसपछि लछारपछारमा उत्रिएका दुई अधिवक्ताले लात्ती र मुक्का हानहान नै गरे ।

अधिवक्ताद्धय विराट न्यौपाने र भूमिनन्द चुडालबीच नेपाल बारको परिसरभित्रै कुटाकुट भएको हो । कुटाकुटमा अधिवक्ता चूडाल घाइते भएका छन् । उनलाई अर्का अधिवक्ता न्यौपानेले हातपात गर्दै लछारपछार र मुक्का प्रहार गरेका हुन् । जवाफमा चुडालले समेत लात्ती प्रहार गरेका थिए । बार परिसरमै भएको कुटाकुटलाई प्रत्यक्ष देखेका अन्य व्यक्तिले अधिवक्ता न्यौपाने मदिरामा लठ्ठीएर मान्छे कुट्न हौसिएको समेत बताएका थिए ।

बारकै परिसरमा कुटिएपछि राजतन्त्रका पक्षधर अधिवक्ता चुडाल गणतन्त्र सकिएको र राजतन्त्र आउने दाबी गर्दै धरधरी रोएका थिए । बारको नेतृत्वमा दलालहरु भएको भन्दै आक्रोश व्यक्त गरेका चुडालले आफु जस्ता कानुन व्यवसायी पीडित बनेको दाबी समेत गरेका थिए ।

आखिर कसरी भयो त बारको परिसरभित्रै कुटाकुट ?

शुक्रबार दिउँसो १ बजेको समयतिर अधिवक्ता भूमिनन्द चुडाल नेपाल बारको परिसरमै योहो टेलिभिजनसंग संक्षिप्त अन्र्तवार्ता दिदै थिए । प्रधानन्यायाधीश प्रकरणपछि अस्तब्यस्त बनेको न्यायालय क्षेत्रमा योहो टेलिभिजनले सेवाग्राहीको समस्याबारे सर्वसाधारण र अधिवक्तासंग कुरा गर्दै थियो । कुराकानीका क्रममा अधिवक्ता चुडालले पाँच दिनदेखि ठप्प रहेको इजलास खोलेर मुद्दाको सुनुवाईमा न्यायाधीशहरु लाग्नुपर्ने बताएका थिए ।

इजलास ठप्प पारेर प्रधानन्यायाधीशको राजीनामा माग्नु जायज नभएको भन्दै चुडाल मिडियासंग बोल्न थालेपछि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ भन्ने पक्षमा रहेको अधिवक्ता विराट न्यौपाने मुक्कामुक्कीमा उत्रिएका हुन् । उनले चुडाललाई दलाल र पीडितको रकम हिनामिना गरेको आरोपसमेत लगाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाका विषयमा न्यायक्षेत्र नै तरंगित र विभाजित बनेका बेला शुक्रबार भएको घटनाले विवाद झनै उत्कर्षमा पुगेको देखाउँछ । चौतर्फी रुपमा राजीनामा दिन दबाब परेपनि प्रधानन्यायाधीश राणा मार्गप्रशस्तको मुडमा छैनन् । यता सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएशससहितका संघसंस्था राणाविरुद्ध आन्दोलन नै गरेर अघि बढ्ने तयारीमा छन् ।

फलतः तनावग्रस्त बन्दै गएको प्रधानन्यायाधीश प्रकरणले न्यायका लागि न्यायालयको ढोका पुग्ने सेवाग्राही त मारमा परेका छन् नै, विवेक र बहसबाट निकास दिने क्षेत्र नै कुटाकुटको तहमा पुगेपछि राणा प्रकरण कुन विन्दुमा गएर टुङगीन्छ थप रहस्यमय छ ।