राजनीति

नेता नेपालले भने – प्रधानन्यायाधीशलाई महाभियोग लगाउने बारे छलफल भएको छैन


काठमाडौँ – सत्तारुढ गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे कुनै पनि किसिमको छलफल नभएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । बिहीबार धनगढी पुगेका नेपालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल भएको छैन,’ उनले भने । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाउने र न्यायपालिकामाथि हस्तक्षेप नगर्ने बताएका थिए ।

नेपाल बार एसोसिएसन, पूर्व प्रधान्यायाधीशहरु र न्यायाधीश फोरम, नेपालले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने सडकबाट माग्दै राजीनामा नदिने स्पष्ट पारिसकेका छन् । प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्टी जनाउँदै अहिले सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् ।