राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा आज मतविभाजन हुने


काठमाडौँ –बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राखेको विश्वासको मतको प्रस्तावमा प्रदेशसभामा आज मतविभाजन हुने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजन प्रक्रिया अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नुभएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद रहेका छन् । विवेकशील साझाका ३ तथा नेमकिपा र राप्रपाका २ सांसद रहेका छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेकपिका र राप्रपाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ ।

वागमतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।