राजनीति

एमालेले देशभरका स्थानीय तहमा आज अधिवेशन गर्दै


काठमाडौँ – दसौं राष्ट्रिय महाधिवेशनको तयारी रहेको एमालेले आज देशभरका सबै स्थानीय तहको अधिवेशन गर्दै छ । पालिका अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत उद्घाटन गर्नुहुने छ ।

बाढीपहिरोका कारण प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्न सक्ने व्यवस्था छ ।

उपमहानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुने छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप–सचिव १–१ जना निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेको छ । एमालेले गत शनिबार एकैपटक देशभरका वडा अधिवेशन गरेको थियो । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।