राजनीति

भागबन्डाको आधारमा न्यायाधीश नियुक्त गर्नाले दुष्परिणाम भोग्नु पर्याे : बार अध्यक्ष श्रेष्ठ


काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भागबन्डाको आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैले भोग्नुपर्ने अवस्था आएको बताएका छन् । उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेको वक्तव्यबारे आफूहरुलाई औपचारिक जानकारी नआएको पनि स्पष्ट पारेका छन् । प्रधानन्याधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैले सोच्नुपर्ने उनको तर्क थियो । ‘उहाँहरुको हिजोका अनुभवको आधारमा समेत उहाँहरुले आफ्नो विचारहरु दिनुभएको छ । त्यो विचारअनुसार त्यसको अवलम्बन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ, उहाँले सोच्नुपर्ने हो,’ उनले भने, ‘त्यो फोरमको, पूर्वन्यायाधीशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आइसकेको छैन । हामी फरमल्ली त्यो अध्ययन गर्छौँ । र, त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन । राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौँ ‘

अध्यक्ष श्रेष्ठले न्यायालयमा विचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराए ।