समाचार

दशैँमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु निराशमा


काठमाडौँ – दशैँमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु निराश बनेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष गाउँबाट काठमाडौं ल्याइएका खसी विक्रि नभएको व्यापारीहरु बताउछन् । यता काठमाडौँको कलंकीमा रहेको खसी बजारमा पनि विगतको जस्तो व्यापार नभएको व्यापारीहरु बताउछन् ।

दशैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ । तर, गत वर्षको झैँ यो वर्ष खसिबोका बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका छन् । दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसि बजारमा यस वर्ष खसी विक्रिमा कमी आयो । कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको व्यापारीको भनाइ छ ।

बिक्री हुन नसकेपछि खसिबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् । गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसिबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवनराज खतिवडाले बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसिबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको उनले बताए ।

विगतको भन्दा दशैँमा नै मुल्य घटाएर खसि विक्री गर्दा आफुहरुलाई मर्का परेको खसि बजारका व्यापारीहरु बताउछन् । यो वर्ष खसीबोका खपत कम हुनुमा कोरोनाका कारण मानिसहरुको आय श्रोत नहुनु रहेको र धेरै बेरोजगार भएको कारण पनि खसीबोकाको खपत कम भएको व्यापारीहरु बताउछन् । यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएका थिए । गत वर्ष दशैँमा मात्रै ४५ देखि ५० हजार खसीबोका बिक्री भएको थियो । उक्त खसीबोका प्रतिकिलो ६ सय ६० देखि ६ सय ७० रुपैयाँमा बिक्री भएको थियो ।