राजनीति

दैनिक ५ सय मेगावाट विद्युत खेर गएपछि कुलमान तनावमा, गगनले दिए सान्त्वना


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत्को खपत बढाउन नसक्दा दैनिक ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । उत्पादन बढ्दै गर्दा अबको चुनौति भनेकै माग र खपत बढाउने रहेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताए । उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए ।

अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए । उनले आजको चुनौति भनेकै माग बढाउने र विद्युत खपत बढाउने रहेको बताउँदै वर्षात्को कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए । अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको उनले बताए । प्रवन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउने तर्फ प्राधिकरण बढीरहेको बताए । उनले इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने बताए ।

सोही कार्यक्रमा नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन सरकारको ध्यानाकर्षण गराए । थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे । नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उहाँले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए ।