राजनीति

सुदूरपश्चिम पुगेर देउवाले भने- एमसिसी पास हुन्छ


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए ।

‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन ।’ उनले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताए । एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उनले बताए ।

‘यो नेपालकै कानुन अनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने । ‘अर्ली इलेक्सनु बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताएका छन् ।

साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन् ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताए । तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।