राजनीति

ओली दश बुँदे सहमतिबाट पछि हटेपछि एमालेका तेस्रो धारका नेताहरु रुष्ट, स्थायी कमिटी बैठकमै गरे प्रतिवाद


काठमाडौँ – पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले अर्थहिन भनेपछि एमालेको तेस्रोधार थप असन्तुष्ट बनेको छ । एमालेमा रहनुको आधारशिलामै ओलीले प्रहार गरेपछि नेताहरु प्रतिवादमा उत्रिएका छन् । १० बुँदे सहमति अर्थ न ब्यर्थको भएको भन्ने अर्थ लाग्ने गरि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति हो यो ।

यही १० बुँदे सहमतिलाई पार्टी एकताको आधारशिला बनाएर उपाध्यक्ष भीम रावलसहितका १० भाई नेता माधवकुमार नेपालले पार्टी नै विभाजन गर्दा पनि एमालेमा रोकिएका थिए । तर अहिले अध्यक्ष ओलीले कार्यदल नै बनाएर गरिएको सहमति कार्यान्वयन नहुँदै दिएको यसखाले अभिव्यक्तिले एमालेभित्रको तेस्रोधार थप असन्तुष्ट बनेको छ । जसको प्रतिवाद बुधबारदेखि नै सुरु भएको छ । अध्यक्ष ओलीको अभिव्यक्तिपछि उपाध्यक्ष रावलले १० बुँदे सहमति एकतारे नभई ११तारे विगुल भएकाले यसको धुन ठण्डा दिमागले सुन्न आग्रह गर्दै ओलीलाई जवाफ लेखेका छन् ।

सहमतिलाई कार्यान्वयन गरेर पार्टी एकताको पहलकदमी लिनेभन्दा अध्यक्ष ओलीले अलमल्याउने मेलो समाएपछि यो पक्ष पहिलेदेखि नै असन्तुष्ट थियो । तर ओलीले १० बुँदे सहमति नै अर्थहिन भनेपछि अब यसको पटाक्षेप नै भएको छ । विहिबारको स्थायी कमिटी बैठकमा समेत असन्तुष्ट नेताहरुले यसको प्रतिवाद गरेका छन् ।

कार्यदल नै बनाएर गत असार २७ मा १० बुँदे सहमति गरिएपछि एमालेमा छुट्टै रौनक थियो । माधव नेपालसहितको सिंगो एमाले एक हुने आशसहित गरिएको सहमति नै एमालेका लागि पुर्नजीवन जस्तो बनेको थियो । तर कार्यदलमाथि कार्यदल बनाएर अल्झाइरहेका अध्यक्ष ओलीबाट सम्भव हुने नदेखेपछि माधव नेपालले फरक पार्टी बनाए । उनलाई फरक पार्टी बनाउने तहमा पु¥याएका १० भाई नेता भने एमालेमै रोकिए । जसले अहिले पनि अन्तरसंघर्ष चर्काईरहेका छन् ।

१० बुँदे सहमतिको मूल स्पिरिट एमालेलाई माओवादीसँग एकता हुनुपूर्वको अवस्थामा फर्काएर पार्टी र जनसंगठनका सबै संरचना क्रियाशील गराउने हो । तर, उक्त सहमति विपरित सुदूरपश्चिम, बागमती, प्रदेश १ र २ लगायत अन्य कतिपय जिल्लामा जेठ ३ पछिकै कमिटीलाई निरन्तरता दिइएको छ । ०७५ जेठ २ मा एमाले सुदूरपश्चिमको संयोजक रहेका रावल जिम्मेवारीबाट बञ्चित छन् । बागमतिमा अष्टलक्ष्मी शाक्यको जिम्मेवारी फर्किएको छैन । दुबै प्रदेशमा ओलीकै ठाडो आदेशमा पूर्वमाओवादी नेताले जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपी असन्तुष्ट पक्षको असन्तुष्टि कै बीच एमालेले शनिबार वडा तहको अधिवेशन र कात्तिक ९ गते पालिकास्तरको अधिवेशन देशभर एकसाथ गर्दैछ । जसमा समेत तेस्रोधारले असन्तुष्टि जनाएको छ । जुन असन्तुष्टि अधिवेशन हुँदै महाधिवेशनमा कसरी पोखिन्छ चासोको साथ हेरिएको छ ।