राजनीति

देउवा सरकारको सय दिन उपलब्धि भन्दा विवाद बढि, सत्तामा पुगेपछि प्रतिवद्धता भुल्छन् नेताहरु (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय दिन वित्दा पनि विवाद बाहेक जनताले चाहे जस्तो काम गर्न नसकेको सर्वसाधारण बताउछन् ।

सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ मा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अप्ठेरो परिस्थितिमा नेतृत्व सम्हालेको सरकारले धेरै काम गर्न नसके पनि जनहितमा केही प्रगति देखाउने सबैको अपेक्षा थियो । तर त्यो आश पनि विस्तारै हराउँदै गएको छ । सरकार बनेको सय दिन पुरा हुदाँ पनि जनस्तरबाट देउवा नेतृत्वको गठबन्धन सरकारको आलोचना झन–झन बढ्दै गएको छ । महामारीकै बीच सत्तारोहण गरेका देउवाले जनतालाई यथोचित सम्बोधन गर्न सकेका छैनन् ।

ओली सरकारको साढे तीन वर्षको कामलाई मूल्यांकन गर्ने हो भने मुलुकले स्थिर सरकार होइन, स्थिर प्रधानमन्त्री मात्रै पायो । ओली सरकार बाहिरबाट हेर्दा एउटै भएपनि १८ पटक गरिएको मन्त्रीमण्डल हेरफेर र विस्तारले विगतकै अस्थिरताको निरन्तरता रहयो ।

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ विरुद्ध खोप व्यवस्थापन बाहेक अरु काम भने गर्न नसकेको सर्वसाधारण बताउछन् । पछिल्ला केही दशकमा जति पटक व्यवस्था बदलियो, समाज बदलियो, राजनीतिक परिवर्तन पनि भयो । तर, राजनीति गर्ने नेताको संस्कार नफेरिएपछि जनताले सबै सरकारबाट निराश हुनु परेको छ ।